
धनगढी – धनगढी उपमहानगरपालिकाको आयोजनामा सिप तथा रोजगार मेला सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्दै सिप सिकेकाहरूलाई रोजगारीमा जोड्न आवश्यक रहेको बताएका छन्।
मेलामा सुदूरपश्चिमका ३९ स्थानीय तहबाट एक हजार ४० युवा सहभागी भएका छन्। नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा सञ्चालन भइरहेको मेलामा ८ विभिन्न क्षेत्रमा २९ विषयका तालिम प्रदान गरिँदै छ।
धनगढीमा ४० दिनसम्म सञ्चालन हुने तालिममा चार हजार ८३० जनाले आवेदन दिएका थिए। तालिम अन्तिम चरणमा रोजगारदाता र तालिम प्राप्त युवाबीच अन्तरक्रिया गराई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्व मन्त्री प्रकाश देउवा, रमेश धामी, प्रदेश सभा सदस्य धर्मराज पाठक लगायतले युवाहरूलाई स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
मेलामा ३० दिन सिपमूलक तालिम र ५ दिन जीवनोपयोगी तथा उद्यमशीलता सम्बन्धी तालिम दिइनेछ भने अन्त्यमा दुई दिन रोजगार मेला आयोजना गरिनेछ।