काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिका र यसको आप्रवासन नीतिबारे कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै बालेनले “अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर रहेको” उल्लेख गर्दै अमेरिकीहरूलाई ‘अल्छी’ को संज्ञा दिएका छन्। उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्नहरू फिर्ता गरिनु पर्ने माग समेत गरेका छन्।
बालेनले ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो।” उनले नेपाल गरिब हुनुको मुख्य कारण जनशक्ति विदेश पलायन हुनु रहेको उल्लेख गर्दै अमेरिकाको समस्या उल्टो रहेको दाबी गरेका छन्।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले उनको अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुनसक्ने तर्क गरिरहेका छन्।