धनगढी खुल्ला मञ्चको पुनर्निर्माण : ज्येष्ठ नागरिक विश्रामस्थलदेखि रात्रिकालीन बजारसम्म

धनगढी । कैलालीको धनगढी खुल्ला मञ्च व्यवस्थित बनाउन धनगढी उपमहानगरपालिकाले ठोस योजना अघि बढाएको छ। खुल्ला मञ्चको दक्षिण क्षेत्रको अतिक्रमण हटाएर व्यवस्थित गर्ने काम तीव्र रूपमा अघि बढाइँदैछ।

धनगढी उपमहानगरपालिका र महिला मैत्री सहर परियोजनाको संयुक्त लगानीमा खुल्ला मञ्चलाई सुविधासम्पन्न बनाउन विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ। चालु आर्थिक वर्षमै स्वीकृत भई निर्माण कार्य पूरा गरिने योजना छ। परियोजनाका लागि २ करोड रूपैयाँ खर्च हुने बताइएको छ, जसमा महिला मैत्री सहर परियोजनाले ७० प्रतिशत (१ करोड ५० लाख) र उपमहानगरपालिकाले ३० प्रतिशत (५० लाख) लगानी गर्नेछन्।

यो योजना अन्तर्गत खुल्ला मञ्चमा बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिक मिलन केन्द्र, युवा लक्षित क्षेत्र, खानाका अस्थायी स्टलहरू, विश्रामस्थल, शौचालय, सडक निर्माण तथा माटो भरान जस्ता संरचनाहरू निर्माण गरिनेछ। महिलाहरूलाई उद्यमशीलतासँग जोड्न रात्रिकालीन बजार सञ्चालन गर्ने योजना समेत बनाइएको छ।

धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टका अनुसार, ‘डीपीआर तयार भइसकेको छ, स्वीकृत हुन बाँकी छ। चालु आर्थिक वर्षमा २ करोडको काम हुन्छ, तर समग्र खर्च ५ करोड पुग्ने अनुमान छ।’

महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न शनिवारीय महिला उद्यम मेला सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले खुल्ला मञ्चमा समेत व्यवसायिक गतिविधिहरू बढाउने उद्देश्य राखेको छ। योजना कार्यान्वयन भएपछि खुल्ला मञ्चलाई व्यवस्थित र आधुनिक रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै