धनगढी । धनगढी उपमहानगरपालिका–७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा महाशिवरात्रि विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। क्लबका अध्यक्ष पृथ्वी रानाको अध्यक्षता तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि डा. जोशीले शिवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै जखौर बाबा मन्दिर र ताललाई समेटेर गुरुयोजना निर्माण गरी प्रदेश सरकारमार्फत केन्द्रीय सरकारलाई सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे।
धनगढी–७ का वडा अध्यक्ष मोती रानाले जखौर तालको विकासका लागि बजेट विनियोजन गर्ने जानकारी दिए। साथै, नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालले पूर्व निर्वाचित जनप्रतिनिधिहरूले तालको विकास गरे पनि पछिल्लो समय कुनै प्रगति नभएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि पहल गर्नुपर्ने बताए।
निवर्तमान वडा अध्यक्ष सिताराम रानाले क्लबद्वारा संचालित सामाजिक कार्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय बासी, साहित्यकार, संस्कृतिकर्मी, विद्यालयका प्रतिनिधि तथा संघसंस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय प्रतिभाहरूले आफ्नो प्रस्तुतीमार्फत महाशिवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गरेका थिए।
आयोजक जखौर बाबा युवा क्लबका अध्यक्ष पृथ्वी रानाले यस्ता कार्यक्रमहरूले धार्मिक, सांस्कृतिक तथा साहित्यिक चेतनाको प्रवर्द्धन गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।