
धनगढी । धनगढीस्थित नवजीवन अस्पतालले एक वर्षको अवधिमा करिब ४९ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ। अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले ४८ हजार ९५३ जना बिरामीले उपचार सेवा लिएको जानकारी दिए।
२०६२ साल फागुन १७ गते स्थापना भएको नवजीवन अस्पताल हाल एक सय शय्याको क्षमतामा सञ्चालित छ। २०७९ असोजदेखि यो संरचनामा विस्तार भएको अस्पतालले हाल १० शय्याको डायलाइसिस सेवा पनि सञ्चालन गर्दै आएको छ।
नवजीवन अस्पतालले सामाजिक सुरक्षामा आवद्ध सर्वसाधारणलाई आइपिडी (आन्तरिक बिरामी सेवा) र ओपिडी (बाहिरङ्ग सेवा) मा ८० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ भने दुर्घटनामा परेकाहरूलाई निःशुल्क उपचार सेवा दिँदै आएको छ। अस्पतालका अध्यक्ष ढुङ्गानाले सामाजिक सुरक्षा कोषबाट सर्वाधिक बिरामीलाई सेवा प्रदान गरेको भन्दै नवजीवन अस्पताल सम्मानित भएको जानकारी दिए।
अस्पतालले २४ सैँ घण्टा १७ प्रकारका उपचार सेवा प्रदान गर्दै आएको छ। साथै, नर्सिङ, सामान्य चिकित्सा र फार्मेसी विषयमा डिप्लोमा तहको अध्ययन समेत सञ्चालन गर्दै आएको छ। अस्पतालमा हाडजोर्नी, प्रसूति तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रेस्कोपिक सर्जरी, मानसिक तथा स्नायु रोग, छाती तथा मुटुरोग, एनेस्थेसियोलोजी, क्रिटिकल केयर, युरोलोजी, न्युरो सर्जरी, स्पाइनल सर्जरी, दाँत तथा रेडियोलोजी सेवाहरू उपलब्ध छन्।
अस्पतालले फागुन २०७९ देखि माघ २०८० सम्म ४८ हजार ९५३ जनालाई सेवा प्रदान गरेको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले रक्तदान कार्यक्रम, बिरामीहरूलाई फलफूल वितरण तथा ट्राफिक प्रहरीलाई ३० वटा डिभाइर हस्तान्तरण गरेको छ।
नवजीवन अस्पतालले आगामी दिनमा सेवा थप विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।