धनगढी उपमहानगरपालिकाले फोहरलाई व्यवस्थापन गर्दै आम्दानीको स्रोत बनाएको छ। उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरी हालसम्म ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ।
गत आर्थिक वर्षमा २५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको उक्त केन्द्रले चालु आवको आठ महिनामै २० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। उपमहानगरपालिकाले २०८० साउनदेखि सञ्चालनमा ल्याएको यो केन्द्रलाई चालु आवदेखि निजी कम्पनीलाई ठेक्का दिएर सञ्चालन गरिरहेको छ।
धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६/८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। प्रत्येक वर्ष १० प्रतिशतले ठेक्का रकम वृद्धि हुने गरी सम्झौता गरिएको छ।
हाल नौ वडाबाट दैनिक २१ टन फोहर सङ्कलन गरी वर्गीकरणपछि बिक्री गरिन्छ। बाँकी १० वडामा डस्बिन राखेर फोहर सङ्कलन हुँदै आएको छ। प्लास्टिक, फलाम, आल्मुनियम, कागज, रबर, विद्युतीय उपकरणलगायतलाई छुट्याएर पुनः प्रयोग वा बिक्री गरिन्छ।
सङ्कलित फोहरमध्ये ७० प्रतिशत रिसाइकल भइरहेको छ भने कुहिने फोहरबाट बायोग्यास उत्पादन गरिन्छ। वर्गीकरण केन्द्रमा तीन वटा मेसिन राखिएको छ, जसले कागज र प्लास्टिकलाई टुक्र्याउने तथा दबाउने काम गर्छ।
धनगढी, विराटनगर, भैरहवा, दाङलगायतका बजारमा फोहर बिक्री गर्दै आएको यो केन्द्रमा हाल १४० जनाले रोजगारी पाएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरू अध्ययन भ्रमणमा आउने क्रम बढेको छ, जसले यो नमुना परियोजनाको प्रभावकारिता पुष्टि गर्छ।