
धनगढी, चैत २८ – धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुने टिम ११ संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
गोदावरी नगरपालिका–८ अन्तर्गत सञ्चालित संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगिताबारे बिहीबार धनगढीको इमेज होटेलमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।
प्रतियोगितामा कैलालीका १२ र डोटीको १ गरी जम्मा १३ टिम सहभागी हुनेछन्। प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक टिम ११ काठमाडौं रहेको छ भने अन्य स्थानीय संघ–संस्थाले पनि सहयोग पुर्याएका छन्।
विजेता टिमले नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
संयोजक शाहीले प्रतियोगिता सफल बनाउन सम्पूर्णको सहयोग र साथको अपेक्षा राखेका छन्।