
धनगढी, चैत २६ – गोदावरी नगरपालिकाले कक्षा ८ को पालिका स्तरीय नतिजा सार्वजनिक गरेको छ, जसअनुसार ५४.६३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। कुल ३,१४८ जना सहभागी विद्यार्थीमध्ये १,७२० जना मात्र सफल भएका हुन् भने १,४२८ जना विद्यार्थी असफल भएका छन्।
असफलमध्ये ७८५ जनाले ग्रेड वृद्धि (पुरक) परीक्षा दिने मौका पाउने नगर शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले जानकारी दिए। उनले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको भन्दै सामूहिक प्रयासको आवश्यकता औंल्याए।
निजी विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गर्दै पीआर इङ्लिस बोर्डिङ स्कुल, जेके सेकेन्डरी स्कुल र एभरेस्ट एकेडेमीले शतप्रतिशत नतिजा ल्याएका छन्। अधिकांश निजी विद्यालयहरूको नतिजा राम्रो देखिए पनि सरकारी विद्यालयहरूको अवस्था कमजोर रहेको जोशीको भनाइ छ।
तर, उनले केही सरकारी विद्यालयमा गत वर्षको तुलनामा सुधार देखिएको समेत उल्लेख गरे। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक, अभिभावक र विद्यार्थीको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए। साथै, नगरपालिकाले शिक्षक व्यवस्थापन, तालिम, नियमित कार्यक्रम र अनुगमनलाई प्राथमिकतामा राख्दै आएको जानकारी पनि उनले दिएका छन्।