
धनगढी । ओखलढुंगाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ऐतिहासिक निर्णय गरेको छ। अबदेखि गाउँपालिकाभित्रका सरकारी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरूले आफ्ना सन्तान सामुदायिक विद्यालयमै अनिवार्य रूपमा भर्ना गराउनु पर्ने निर्णय कार्यान्वयनमा ल्याइएको हो।
गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित उक्त निर्णय आगामी शैक्षिक सत्र २०८२ देखि लागू हुने छ। सो निर्णय कार्यान्वयनको लागि पालिकाले सूचना समेत जारी गरिसकेको छ। प्रशासकीय अधिकृत सन्तोष गौतमका अनुसार अभिभावक र सम्पूर्ण पालिकाबासीलाई जानकारी गराउन सूचना सार्वजनिक गरिएको हो। ‘विद्यार्थी भर्ना अभियान सुरु हुनु पूर्वै निर्णय भएकाले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ,’ गौतमले बताए।
गुणस्तरमा गम्भीर असर पार्नेगरी जनप्रतिनिधि र कर्मचारीहरू सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दै निजी विद्यालय रोज्ने प्रवृत्तिको आलोचना भइरहेका बेला मोलुङ गाउँपालिकाको यो कदमलाई सकारात्मक पहलको रूपमा हेरिएको छ।
पालिकाका अध्यक्ष उत्तम राईका अनुसार उक्त निर्णयले सामुदायिक विद्यालयप्रति सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरूको अपनत्व बढ्ने र शिक्षाको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ। मोलुङ गाउँपालिका यस प्रकारको निर्णय गर्ने जिल्लाकै पहिलो पालिका बनेको छ।