
धनगढी । नयाँ वर्ष २०८१ को धनगढी स्वागतसँगै धनगढीमा आयोजना गरिएको राष्ट्रिय युवा संघ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा डोटीको राष्ट्रिय युवा संघ टिम विजयी बनेको छ।
धनगढी रंगशालामा सम्पन्न फाइनल खेलमा मालिकार्जुन, दार्चुलालाई पराजित गर्दै डोटीले उपाधि हात पारेको हो। प्रतियोगितामा मालिकार्जुन दार्चुला दोस्रो स्थानमा रहँदा रानाथारु आदर्श युवा क्लब तेस्रो स्थानमा सीमित भयो।
चैत २९ गतेदेखि सुरु भएको प्रतियोगिता आज बैशाख २ गते एक भव्य समारोहबीच सम्पन्न भएको हो। राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको प्रतियोगिताको समापन समारोह अध्यक्षता प्रदेश कमिटी इन्चार्ज अरुण कुँवरले गरेका थिए। प्रमुख अतिथि रूपमा केन्द्रीय इन्चार्ज राजिव पहाडी, साथै केन्द्रीय महासचिव सुमन पुरी र नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने डोटी टोलीले नगद २ लाख २५ हजार, दोस्रो स्थानमा रहेको दार्चुलाले १ लाख २५ हजार, र तेस्रो स्थानमा रहेको रानाथारु क्लबले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
यो प्रतियोगिता लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने, साथै युवालाई खेलमार्फत सकारात्मक सोच, अनुशासन र नेतृत्व क्षमतामा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएका छन्।
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार यस्ता कार्यक्रमहरूले युवाहरूलाई सशक्त, सक्रिय र जिम्मेवार नागरिक बनाउने दिशातर्फ महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।