पत्रकार मनोज मानबमाथि हमला गर्ने अहिले देशको कायापलट गर्ने अर्थ न वर्थका अभिव्यक्ति दिने तारा बरालको पत्ता साफ

काठमाडौँ। पछिल्लो समय विकसित सामाजिक सञ्जालको दुरुपयोगले समाजमा भ्रम र द्वेश फैलाइरहेको छ । सान्त, सभ्य र मेलमिलापमाथि धावा बोलेर कहिलेकाहीँ धार्मिक त कहिलेकाहीं जातीय हिंसामा मलजल पुर्‍याउन चाहनेहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेका छन् । आफूलाई मन नपरेको वर्ग, व्यवस्था तथा व्यक्ति र समुदायको तेजोवोध गर्न त्यस्ता व्यक्तिहरुले सामाजिक सञ्जालकै बदनाम गरेका छन् ।

समाजमा प्रतिष्ठा कमाएको व्यक्तिका विरुद्ध भ्रम फैलाएर निमेषमै उसको चीरहरण गर्न प्रविधिको विकासलाई समाजको विनास गराउने माध्यमका रुपमा चिनाउने भूमिकामा देखिएका त्यस्ता व्यक्तिहरुले आफूलाई चाहिं सामाजिक अभियन्ता घोषणा गरेका छन् । प्रत्यक्षदर्शीहरुले देखिरहेका छन्, त्यसरी सामाजिक सञ्जालको माध्यमबाट उदाएका कति महत्वाकांक्षी कथित अभियन्ताहरु कहिले बर्बराउँदै आएका थिए, कति बदनामीसँगै पत्तासाफ भए, कतिले आत्महत्या गरे अनि कति जेलको हावा खाइरहेका छन् ।

सबैभन्दा बढी यस्ता व्यक्तिहरु युट्युबमार्फत अन्टसन्ट बर्बराएर कन्टेन बनाउँदै भाइरल भएका छन् अनि जुन विषयमा बढी बर्बरायो त्यसै विषयको अभियानका नाममा वा गालीगलौजका नाममा आफू अभियन्ता भएको घोषणा गरिरहेका छन् । आफूलाई समाजसेवी, अभियन्ता, देशको भावी नेतृत्वकर्ता वा भनौं युट्युबबाटै सक्ने भए अहिले देशको कायापलट गर्नसक्ने जस्ता अर्थ न वर्थका अभिव्यक्ति दिँदै चर्चामा आएकाहरुलाई मनोचिकित्सकहरुले मनोपरामर्स लिन सल्लाह दिने गरेकोसमेत पाईन्छ । तर, आफैं सर्वेसर्वा बनेर सामाजिक सभ्यतालाई धमिल्याईरहेका कथित यस्ता अभियन्ताहरुले त्यो आवश्यकता सोचेको देखिँदैन ।

सामाजिक सञ्जालको माध्यमबाट चर्चामा आएकाहरु बेलाबेलामा युट्युबरको हटकेक अनि गतिलै कमाउने माध्यम बन्ने गरेका छन् । तर, समाज, सद्भाव र व्यक्ति–व्यक्तिमा द्वेश र घृणा फैलाउने बाहेक नेपाली समाजलाई दिनभने केही पनि सकेका छैनन् । यीनीहरुको मनोरोगले सभ्य समाजमा मनोदशाको विकास गरिरहेको छ । कुनैबेला एक प्रसंगमा यो स्तम्भकारले युट्युवको माध्यमबाट सामाजिक सञ्जालमा उदाएका कथित अभियन्ता पुन्य गौतम प्रवृत्तिको बारेमा मनोविद् गोपाल ढकालसँग सोध्दा उनले त्यसलाई मनोरोगले विकास गरेको प्रवृत्ति भनेका थिए । सभ्य समाजमा खतराको घण्टी बजाइरहेको अर्को मनोरोग हो तारा बराल प्रवृत्ति ।

उनी पनि माथि व्याख्या गरिएको भन्दा फरक वा सकारात्मक बाटोबाट सामाजिक सञ्जालमा चिनिएकी होइनन् । क्षणिक गढगढाएको युट्युवको खहरेले नै उनलाई पनि बगाएर ल्याएको हो । सामाजिक सञ्जालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध उग्र र यो परिवर्तनमा संलग्नहरुका विरुद्ध अशोभनीय एवम् कानुनी रुपमै दण्डनीय अराजक अभिव्यक्ति दिने उनी धुर्मुस सुन्तली फाउण्डेसनका संस्थापकद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)को अभियानका विरुद्ध उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आएकी हुन् ।

धुर्मुस–सुन्तलीले चितवनको भरतपु्र महानगरपालिकामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन थाल्दा सामाजिक सञ्जालबाटै देशबिदेशका नेपालीहरुले बाहबाही गरिरहेको सन्दर्भलाई आफू चर्चामा आउने माध्यम बनाएकी उनले त्यो अभियानका विरुद्ध भ्रम छर्ने काम गरेकी थिइन् । भलै धुर्मुस–सुन्तलीले आँटेको त्यो महत्वाकांक्षी योजना आफैंमा सान्दर्भिक र पुरा हुने खालको थिएन । यद्यपी, त्यस अभियानका विरुद्ध तारा बरालको अराजकता पनि नेपाली समाजले चाहेको थिएन । धुर्मुस–सुन्तलीले राखेको महत्वाकांक्षा बमोजिम रकम उठेन, रंगशाला बनेन । बरालले त्यसलाई आफ्नो भविष्यवाणी सफल भएको र आफूले ठूलै युद्ध जितेको रुपमा अथ्र्याइन् ।

गणतान्त्रिक व्यवस्थाको विरोधी भएका कारणले उनले आफूलाई राष्ट्रवादी अभियन्ता पनि भन्ने गरेकी छिन् । अर्थात ‘मैंले चाहें भने राजतन्त्र फकाउँछु’ भन्नेसम्मको मनोरोगले उनलाई ग्रस्त बनाएको देखिन्छ । किन भने राजावादी वा राष्ट्रवादी वा भनौं व्यवस्था नै परिवर्तन गर्न सक्ने उचाइको कुरा गर्ने उनी देशको कानून अनि मानवीयताका बारेमा तत्काल शून्यमा झरेर हर्कत देखाउँछिन् । यसको एउटा उदाहरणको रुपमा लिन सकिन्छ क्रिकेटर सन्दीप लामिछाने प्रकरण ।

देशको कानूनले पीडितको सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्छ भनेको छ । नेपाल मात्र नभइ हरेक देशमा पीडितलाई राज्यले सुरक्षा दिनुपर्ने कानुनी व्यवस्था सुरक्षित छ । यसको मतलव राज्यको निकायले जुन ठाउँमा पीडितको सुरक्षा देख्छ, त्यही ठाउँमा राख्ने हो । क्रिकेटर लामिछानेबाट जबरजस्ती करणीको शिकार भएको भनिएकी किशोरीलाई प्रहरीले माइती नेपालको संरक्षणमा राखेको थियो । अदालतमा विचाराधीन मुद्धाको विषय एकातिर छँदैथियो, फैसला आउँदा लामिछाने दोषी वा निर्दोषको जुन परिभाषाभित्र पर्लान् त्यो पछिको कुरा हो तर, आफू महिला अधिकारका पक्षमा रहेको हुंकारसमेत गर्ने बरालले पीडित किशोरीलाई नै सडकमा ल्याउनु पर्नेसम्मको अराजक हर्कत देखाएकी थिइन् ।

बरालले किशोरीलाई संरक्षण गरेको भन्दै माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई बिदेशी भएको वा देशनिकाला गर्नुपर्नेसम्मको नाराबाजी गरिन् । त्यतिबेलाको उनको असम्बेदनशील र अशोभनीय हर्कत देख्दा उनी महिला भएर महिलाका लागि होइन अलिकति मानवताको गुञ्जायस पनि छ जस्तो लाग्दैन थियो । सभ्य समाजका जोकोहीले पनि उनको हर्कतमा आपत्ति जनाएका थिए । मनोविद् गोपाल ढकालको भनाइ अनुसार स्थापित वा चर्चित प्रसंगको भीडलाई पछ्यायो भने आफू पनि चर्चामा आउँन पाइन्छ भन्ने मनोरोगले ग्रस्त भएपछि व्यक्तिहरु असत्य भए पनि भीडको पछि लाग्ने गर्छन् । त्यसैले पनि बराल आफ्नो मानवीयतालाई नै तिलाञ्जली दिएर बलात्कृत भनिएकी किशोरीलाई सडकमा सार्वजनिक गर्नुपर्नेसम्मको तल्लो हर्कत गर्दै थिइन् ।

हुनत उनले एउटा पक्षलाई अर्काको विरुद्धमा भड्काउन गतिलै रकम लिन्छिन् भन्नेसम्मको चर्चा हुने गर्छ तर अँध्यारो कुनामा हुने त्यस्ता कारोबारको प्रमाण नजुट्ने हुँदा त्यो प्रसंगलाई यतिकै छोडौं । तर, उनमा सामान्य भन्दा सामान्य मानवीयता भने देखिँदैन । उनी यतिसम्म बेलगाम छिन् कि केही समय अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनमा उनले सामाजिक सञ्जालमा राखेको भनाइले उनको परिचय स्पष्ट पार्छ ।

पछिल्लो समयमा पनि उनको अर्को करामत पनि चर्चामा आएको छ । स्टार अनलाइन टिभी नामक समाचार पोर्टल र युट्युबका सञ्चालक मनोज मानवलाई थुक्दै हात-खुट्टा छोडेपछि उनी भाइरल भएकी हुन् । श्रोतले दिएको जानकारी अनुसार पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दबाट एक युवती पीडित बनेकी थिइन् । युवतीलाई मायाको नाटक गरेर ठूलै रकमसमेत सिध्याइदिएको गुनासो आएपछि बरालले त्यसमा न्याय दिलाउने आस्वासन दिएकी थिइन् । बरालले पीडित युवतीबाट केही रकम बुझेर चन्दसँग भेटघाट सुरु गरेको श्रोतको भनाइ रहेको छ । यद्यपी, चन्दसँग भेटेदेखि बरालले ती युवतीको फोनसमेत उठाउन छोडिन्, अनि यो कुरा मनोजको कानमा पर्‍यो । आफूले धेरै पटक बराललाई यस्ता काममा नलाग्न र बदनाम नहुन सम्झाएको मनोजको भनाइ रहेको छ ।

यद्यपी, बराल न्याय दिन्छु भनेकै युवतीको विरुद्धमा लग्न थालिन् । बरालले युवतीको चरित्रहत्या हुनेगरी सामाजिक सञ्जालमै लेखेपछि घटनाले अर्को मुड लियो । ती युवतीसँग बरालको हात हालाहाल भएपछि उनले आफूलाई गहिरो चोटपटक लागेको भन्दै उपचार खर्चसमेत तिराइन् । बराल र चन्दको मिलेमतोमा भएको यो हर्कतको बारेमा मनोजले आफ्नो अनलाइनमा समाचार लेखे । तब बरालले प्रेस काउन्सिल गुहारिन् । प्रेस काउन्सिलले त्यसरी व्यक्तिको चरित्रहत्या गर्न नपाउने भन्दै २४ घण्टाभित्र माफी मागेर समाचार हटाउन निर्देशन दिएपछि आफूलाई तनाब भएको मनोजले बताए ।

समाचार लेखेको विषयमा माफी नमागी समाचारमा उल्लेख भएको प्रमाण आफूले काउन्सिललाई दिएको भनाइ उनले राखे । बराल र चन्दबीचको व्यक्तिगत सम्बन्ध आफ्नो सरोकारको विषय नभए पनि अभियन्ता र पूर्व एआइजीको आवरणमा व्यक्तिहरुले दुख पाएको देखेपछि आफूलाई चासो बढेको बताउँदै उनीहरुबीचको रंगरंस रहेको बारेमा सरोकारवालामा प्रमाणित गर्नै पर्ने वाध्यता आफूमा आइपरेको उनले बताए । यही क्रममा आफूले बराल र चन्द सिन्धुपाल्चोकको चर्चित रिसोर्ट सुकुटे वीचमा सँगै पुगेको पाएको उनको भनाइ रहेको छ । दुईजना मात्रै काठमाडौं बाहिरको रिसोर्ट–रिसोर्ट चाहार्नुले नै उनीहरुको सम्बन्ध पुष्टि गर्ने जिकिर मनोजको छ ।

गएको सोमबार मात्रै पनि मनोजसहितका युट्युबरहरुले अनामनगरस्थित बाजेको सेकुवामा बराल र चन्दलाई संगै फेला पारेका थिए । युट्युबमा देखिएको भिडियोमा मनोज क्यामराबिहीन अवस्थामा भित्र पसेका छन् । त्यतिबेला बराल र चन्द सँगै गफ गरिरहेको देखिएको छ । मनोज भित्र गएर सोफामा बस्नासाथ चन्द उठेर आउँछन् अनि अरु युट्युबरहरुले क्यामरा तेस्र्याएकोमा आपत्ति जनाउँछन् । मनोज मानव भनेको को हो ? भन्दै मनोजको मास्क खोल्दिन्छन् । चन्दले अश्लिल शब्दसहित मनोजलाई गाली गर्छन् । अनि बराल पनि म कुट्छु यस्लाई भन्दै सुरिएर आउँछिन् अनि मनोज पछि उठ्छन् । बरालले हातले मात्र होइन, लात्तलेसमेत हान्दै थुक्छिन् भने चन्दले पनि दारा झार्दिन्छु भन्दै धम्की दिन्छन् । चन्दको व्यवहार हेर्दा उनले एकाबिहानै मदिरा पिएको झैं लाग्छ ।

त्यसपछि बरालले आफूले मनोजलाई थुक्दै कुटेको भनेर गौरव गरेकी छिन् भने एक स्टाटसमा उनले आफू हारेको भन्दै आमालाई सम्बोधन गरेर निरास अभिव्यक्ति दिएकी छिन् । देशको व्यवस्था र व्यक्तिका विरुद्ध जथाभावी बोल्ने बरालका विरुद्ध परेको उजुरीमा उनले गृहमन्त्रीलाई गाली गरेकी छिन् । पूर्वएआइजी चन्दसँग युट्युबरहरुले भेटेको प्रसंगलाई उनले मुद्धा फिर्ता लिन्छु भनेर बोलाएर हनीट्र्यापिङ र व्ल्याकमेलिङ गरियो भनेकी छिन् । मनोज मानवलाई आफैंले पिटेर पत्रकारलाई भिडियो दिएको भन्दै उनले गौरव गरेकी छिन् । आफूविरुद्ध मुद्धा हालेमा गृहमन्त्रीले साथ दिन्छु भने मान्छे पिछा लगाएको कुतर्कसमेत उनले गरेकी छिन् ।

यही प्रकरणमा पनि अरुले नियम मान्नु पर्ने फर्मान लगाउने बरालले दोहोरो चरित्र देखाएकी छिन् । अरुलाई कानून मान्नुपर्छ भन्ने बराल आफूले भने कानून हातमा लिएकी छिन् । उनले आफूले बिकास गरेको प्रकरणमा राज्यव्यवस्थालाई दोष दिएकी छिन् । गणतन्त्र र राज्यव्यवस्था विरुद्ध बोलेकोले मनोजले आफूलाई सिध्याउने धम्की दिएको अर्को कुतर्क उनको छ ।

यो समाचार सामाग्री तयार पार्दै गर्दा बरालले लेखेको फेसबबुक स्टाटस पनि उनले आफूलाई दाबी गरेको व्यक्तित्वले दिने अभिव्यक्ति छैन । अत्यन्त असामाजिक तथा निकृष्ट लाग्छ । उनले भनेकी छिन् ‘परमेश्वर भगवान,मलाई अनावश्यक मुद्दा हाल्ने, गाली गर्ने सबैका जोडी मरुन् र सदासदा एक्लै जीउँनुपरोस् ।’

उनको यो सराप उनले दुख दिएपछि कानूनी अधिकारको प्रयोग गरेर न्याय खोज्नेहरुमा केन्द्रित छ । किनभने उनीविरुद्ध ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफूविरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराएका छन् । बोगटीले टिका योगी वारेसमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन् । उक्त रिटको सुनुवाइ ८ मंसिरमा हुनेछ ।

आफू महिला अभियन्ता भएकोले कसैले पनि कारबाही गर्न नसक्ने अहमता बराललमा देखिन्छ । जसले गर्दा कसैलाई धम्की दिएर हुन्छ या फेसबुकमै रोएर हुन्छ, उनले सबै प्रकारका हर्कतहरु गर्ने गरेकी छिन् । अरुलाई नमस्कार गरेमात्र उसले आफूलाई पनि नमस्कार नै फर्काउने सत्यताबाट बराल चुक्दै गएकी छिन् । अरुतिर एउटा औंला उठाउँदा तीन औंलाले आफैंलाई इशारा गरिरहेको पनि ख्याल गर्नुपर्छ । उनको शुभचिन्तक बनेकाहरुले उनको स्टाटसमा गरेका कमेन्टहरुले सामाजिक विद्वेषको विजारोपण गरिरहेको छ । तारा बरालजीले अब आफ्नो हर्कत छोडेर अरुले पनि यो प्रवृत्तिकै अन्त्य पो गर्ने कि !

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै