
काठमाडौँ। अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारी ट्राफिक नियम सम्बन्धि सचेतना फैलाउनुमा व्यस्त छ । विद्यालय उमेर देखि नै बालबालिकालाई ट्राफिक नियमको बारेमा जानकारी दिन आवश्यक रहेकाले विद्यालयमा गएर सचेतना कार्यक्रम संचालन गरिन लागिएको बताइएको छ ।
बिहिवार अस्थायी ट्राफिक पोष्ट फुलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार सिद्धराज विष्टले धनगढी-१९ स्थीत फूलवारी माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । फूलवारी माविका कक्षा ४ देखि १२ सम्मका २१० जना छात्र र १५० जना छात्रा गरी कुल ३ सय ६० जना विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिइएको हो ।
विष्टका अनुसार कार्यक्रममा सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, ट्राफिक चिन्हबारे जानकारी दिनुका साथै सुरक्षित यात्रासहितको सडक प्रयोग सम्बन्धमा विद्यार्थीको भूमिकाबारे सचेतना दिइएको थियो । कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहनुका साथै कार्यक्रम फलदायी रहेको विष्टले बताएका छन् ।
अस्थायी प्रहरी पोष्ट फुलवारीको नेतृत्व गरिरहेका बिष्टले विभिन्न विद्यालय तथा समुदायमा गएर ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम चलाउँदै आएका छन् ।
इन्चार्ज बिष्टको सक्रियतामा फूलवारी,हसुलिया हुदै रामपुर सम्म ट्राफिक नियमको कडाईका साथ लागु गरिएको छ । यात्रुहरुलाई नियमको बारेमा जानकारी दिन सडकका विभिन्न ठाउँमा सचेतनामुलक सन्देश लेखिएका बोर्डहरु टाँसिएको छ । बिष्टको सक्रियताले फूलवारी र कैलारी गाउँपालिकामा ट्राफिक नियमको पालना संगै सडक दुर्घटनामा कमी आएको स्थानीयहरुको भनाई छ ।