कञ्चनपुरमा दम्पती हत्यास् दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान

कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका-१ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दुई दर्जन बढीलाई घटनाबारे सोधपुछ गरिसकेको छ ।

‘२५/२६ जनालाई घटनाबारे सोधपुछ गरिसकेका छौं । अहिलेसम्म त्यस्तो केही पत्ता लागेको छैन’, उनले भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं ।’

दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतकको फोन प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड ९सीडीआर०मार्फत समेत अनुसन्धान भइरहेको बताए ।

‘सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । घटनामा संलग्नहरू पक्राउ पर्छन्’, उनले भने, ‘अहिलेसम्म विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै