पत्रकार महासंघको निर्वाचनले सरकारको स्थायित्व र जनविश्वासलाई मजबुत बनायो : मुख्यमन्त्री शाह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल पत्रकार महासंघको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्दै वर्तमान गठबन्धन सरकारलाई स्थिरता दिन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

बुधबार धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले केन्द्रदेखि जिल्लासम्म निर्वाचन सम्पन्न गरेर महासंघले लोकतन्त्रलाई थप सुदृढ बनाएको उल्लेख गरे।

“यस निर्वाचनले सहमतिको प्रयासलाई मजबुत बनाउनुका साथै देशभर लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास अझै दृढ बनाएको छ,” उनले भने।

कार्यक्रममा मुख्यमन्त्री शाहले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र शुभकामना व्यक्त गरे। त्यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सिंह सार्कीले छिट्टै प्रदेशस्तरीय सञ्चार ऐन ल्याइने प्रतिबद्धता जनाए। उनले सञ्चार क्षेत्रको विकासका लागि सञ्चारकर्मीहरूको सुझावलाई प्राथमिकता दिने बताए।

कार्यक्रममा प्रेश चौतारी नेपाल र प्रेस युनियनको साझा गठबन्धनबाट निर्वाचित अध्यक्ष भरतबहादुर शाह, महासचिव शिवराज भट्टसहितका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरियो। निर्वाचित पदाधिकारीहरूले पत्रकारिता क्षेत्रको सुधार र विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै