
धनगढी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा सभापतिका लागि चुनाव लड्ने घोषणा गरेका छन्। नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सभापतिमा पुनः उम्मेदवारी दिनुको साथै जित्नेमा पनि पूर्ण विश्वस्त रहेको बताए।
१४ औं महाधिवेशनमा आफ्नो नेतृत्वमा गठन भएको टोली अहिले पनि सुदृढ रहेको उल्लेख गर्दै उनले महामन्त्री गगन थापा लगायतका सहकर्मीहरू अझै पनि आफू संगै रहेको दाबी गरे।
डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै दुरी नभएको बताउँदै, देउवालाई देशकै आदरणीय नेताका रूपमा सम्मान गर्ने धारणा व्यक्त गरे। उनले नेपाली कांग्रेस महाधिवेशनका लागि सक्रिय रहेको र पार्टीभित्र सहमति तथा एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
डा. कोइरालाले वर्तमान सरकारप्रति असन्तोष जनाउँदै, यदि सरकार असफल भए देशमा अराजकता निम्तिन सक्ने चेतावनी दिए। “सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले स्वीकार गरेका छन्,” कोइरालाले भने।
उनले संविधान सुधारका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने र सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “सरकार गठन भएको पाँच महिना बितिसकेको छ। अब सुधार गरेर गतिमा काम गर्न जरुरी छ,” उनले थपे।
संविधान संशोधनबारे छलफल नै नगरेको सरकारको कमजोरी औंल्याउँदै उनले दीर्घकालीन सुधारका लागि सशक्त कदम चाल्न आग्रह गरे।