
धनगढी। कैलालीको धनगढीमा पुस ९ गतेदेखि १५ गतेसम्म ‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ आयोजना हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कैलालीले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष भीम पडालका अनुसार यो महोत्सव १४ वर्षपछि धनगढीमा आयोजना गर्न लागिएको हो। उनले सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द र छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए।
‘महोत्सवले यस क्षेत्रको शैक्षिक, आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्नेछ,’ अध्यक्ष पडालले भने- उनले महोत्सवले देशभर छरिएर रहेका प्रकाशक, वितरक, मसलन्द सामग्री उत्पादक तथा शिक्षासँग सम्बन्धित सरोकारवालालाई एकीकृत गर्ने विश्वास व्यक्त गरे।
महोत्सवका आकर्षणहरू
विद्यार्थीका लागि टिकट दर ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ। जेष्ठ नागरिक र फरक क्षमताका व्यक्तिहरूका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने यस महोत्सवले शिक्षा, व्यापार, र संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।