
धनगढी । धनगढीको श्रीपेच होटेल म्यानेजमेन्ट कलेजले शारदा फुटबल कपका लागि व्यानर प्रायोजन गरेको छ। गोदावरी नगरपालिका वडा नम्बर ८, स्याउले बजारमा रहेको शारदा विद्या निकेतनको आयोजनामा माघ १२ देखि १८ गतेसम्म हुने उक्त फुटबल प्रतियोगितामा कलेजले आर्थिक सहयोग गर्दै व्यानर स्पोन्सरको रुपमा जोडिएको हो।
प्रतियोगितामा प्रदेशभरका १६ वटा माध्यमिक विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिता संयोजक कृष्ण पुजाराका अनुसार प्रतियोगिता सफल बनाउन श्रीपेच होटेल म्यानेजमेन्ट कलेजसँग आर्थिक सहयोगको सम्झौता भएको छ। धनगढीको एसपिए कलेज नजिक रहेको श्रीपेच कलेजले होटेल म्यानेजमेन्टका विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ भने होटेलसम्बन्धी सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, र उदयमान खेलाडीलाई जनही १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।
प्रतियोगितामा सहभागिताका लागि माघ ८ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।