
धनगढी । सि.पि अस्पताल धनगढी र बेलडाँडी गाउँपालिका कंचनपुरको संयुक्त आयोजनामा यहि पौष २० गते शनिवार बेलडाँडी गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिविर बिहान १० बजेदेखि ४ बजेसम्म बेलडाँडी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिनेछ।
शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा विभिन्न रोगहरूको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै, रगत जाँच, भिडिओ एक्सरेलगायतका सेवाहरू उपलब्ध हुने जनाइएको छ।
गरिब तथा विपन्न परिवारका बिरामीहरूलाई लक्षित गर्दै, आर्थिक अभाव वा अन्य समस्याका कारण उपचार गर्न नसक्नेहरूको लागि रोग पहिचान र उपचार सेवा प्रदान गर्न यो शिविर आयोजना गरिनेछ।
सि.पि अस्पतालका प्रशासन प्रमुख हेम जोशीका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बेलडाँडी गाउँपालिका सँग सहकार्य गर्दै शिविर आयोजना गर्न लागिएको हो । । उनले हरेक वर्ष गरिब तथा विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरे।
कंचनपुरको बिकट बेलडाँडी क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले आयोजना गरिने यो शिविरले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।