बेलडाँडीमा सिपी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०० भन्दा बढी लाभान्वित

धनगढी । धनगढी उपमहानगरपालिका ४ चटकपुरस्थित सिपी अस्पतालको सहकार्यमा बेलडाँडी गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा सम्पन्न शिविरमा सिपी अस्पतालका १२ भन्दा बढी विशेषज्ञ चिकित्सक र नर्सहरूको टोलीले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। शिविरमा निःशुल्क भिडियो एक्सरे, औषधि वितरण, सर्जन, पेट, छाती, घाँटी तथा महिला रोग विशेषज्ञद्वारा परामर्शलगायतका सेवा प्रदान गरिएको थियो।

शिविरमा करिब ६०० जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। स्थानीय बासिन्दाहरूले आफ्नो घरआँगनमै यस्तो सुविधा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। आर्थिक रूपमा कमजोर स्थानीयहरूका लागि शिविर विशेष अवसरको रूपमा रहेको स्थानीय जैमति शाहाले बताइन्।

शिविरको उद्घाटन कार्यक्रममा सिपी अस्पतालका अध्यक्ष डा चन्द्र प्रकाश पाण्डे, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, र विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले सिपी अस्पतालको सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन समन्वय गरिने बताइन्। सिपी अस्पतालले यसअघि पनि विभिन्न ठाउँमा यस्ता शिविरहरू आयोजना गर्दै आएको छ भने बेलडाँडीमा यो दोस्रो पटकको शिविर हो।

शिविरमा सेवा लिएका बिरामीहरूलाई अस्पतालमा जाँदा पर्चा शुल्क नलाग्ने र अन्य परीक्षणहरूमा विशेष छुटको व्यवस्था गरिएको सिपी अस्पतालले जानकारी दिएको छ।

सिपी अस्पतालका अध्यक्ष डा. चन्द्र प्रकाश पाण्डेले स्वास्थ्य सेवाको पहुँच सबै स्थानसम्म पुर्‍याउने उद्देश्यले यस्ता निःशुल्क शिविरहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस शिविरले आर्थिक रूपमा कमजोर र ग्रामीण क्षेत्रका बिरामीहरूलाई ठूलो राहत प्रदान गरेको स्थानीयले बताएका छन्।

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै