
बझाङ । बुङ्गल नगरपालिका ६ स्थित दुर्गा माध्यमिक विद्यालय सिमालीले आफ्नो ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयले ४७ वर्ष पूरा गरी ४८औँ वर्षमा प्रवेश गरेको खुसियालीमा यो उत्सव आयोजना गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम देवारको अध्यक्षता र बुङ्गल नगरपालिका वडा नं ६ का अध्यक्ष राम देवारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। विद्यालयका संस्थापकहरूको सम्मानस्वरूप सरस्वती माताको तस्बिरमा माल्यार्पण गरी उत्सवको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा बुङ्गल नगरपालिका वडा नं ८ का अध्यक्ष लोकेन्द्र जाग्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए। विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर ऐडीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आयव्य विवरण सार्वजनिक गरेका छन्।
वडा अध्यक्ष राम देवारले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई नमुना शिक्षालयका रूपमा विकास गर्न जोड दिए। साथै, विद्यालयको प्रगतिको लागि स्थानीय तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सव अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता र विद्यालयका उत्कृष्ट, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक ऐडीले जानकारी दिए।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी, र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका शिक्षक कमल धामीका अनुसार वार्षिकोत्सवले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउन योगदान पुर्याएको छ।
४८औँ वार्षिकोत्सवले दुर्गा माध्यमिक विद्यालयको शैक्षिक इतिहासको महत्त्वलाई उजागर गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षामा थप योगदान गर्ने लक्ष्यलाई अघि सारेको छ।