धनगढी। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ५ (क), कैलालीको दोस्रो क्षेत्रीय सम्मेलन धनगढी–१४ स्थित बुद्ध गुम्बामा सम्पन्न भएको छ। क्षेत्रीय सभापति सीताराम रानाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. जीवन राना रहिन्।
सम्मेलनमा केन्द्रीय सदस्य नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रकाश देउवा विशिष्ट अतिथि रहेका थिए।
प्रमुख अतिथि डा. रानाले पार्टीको सय दिने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै वडा तहबाट अभियानको सिद्धान्त अनुसार कार्य गर्नुपर्ने बताइन्। केन्द्रीय सदस्य वडले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै संगठन सुदृढ गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
पूर्वमन्त्री देउवाले जनस्तरबाट उठेका समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै कांग्रेसको विकासका क्षेत्रमा अग्रणी भूमिका रहेको दाबी गरे। साथै, उनले कांग्रेस कार्यकर्तालाई इमान्दारीका साथ कार्य गर्न प्रेरित गरे।
सम्मेलनमा अन्य नेताहरूले पनि पार्टी संगठन विस्तार र मजबूतीका लागि सक्रिय योगदान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा पुर्वमन्त्री टेकबहादुर रैका, महा समिति सदस्य बाधुराम चौधरी, कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार, जिल्ला सदस्य तपेन्द्र भुसाल, क्षेत्रीय सचिव महेश गोले, तथा नेता मानबहादुर बिष्टलगायतका नेताहरूको उपस्थिति थियो।
सम्मेलनमा धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारी गाउँपालिकाका २ वडा गरी १३ वडाका क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश सभा क्षेत्रीय सदस्य कृतबहादुर बिष्टले अतिथिहरूलाई स्वागत गरेका थिए। सचिव निरज बिष्टले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव जमुना भण्डारीले गरेकी थिइन्।
सम्मेलनमा सहभागी सबैलाई सभापति सीताराम रानाले धन्यवाद व्यक्त गरेका छन्।