
धनगढी : धनगढी उपमहानगरपालिकाले बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरका लागि पहिलोपटक पूजा सामग्रीसहितको सरकारी डोल पठाउने भएको छ।
नगर प्रमुख गोपाल हमालले सुदूरपश्चिमको सांस्कृतिक र धार्मिक महत्व झल्काउन धनगढीबाट बडीमालिकामा डोल पठाउने निर्णय लिएको बताए। उनले भने, “धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो, यहाँका नागरिकहरूको समृद्धि र धार्मिक आस्थाका लागि यो कदम चालिएको हो।”
डोल धनगढीमा विधिवत् पूजाआजा गरी सरकारी कर्मचारीहरूद्वारा बाजुरा लैजान तयारी गरिएको छ। बडीमालिका मन्दिरमा जेठ शुल्क पक्षको अष्टमी तिथिमा विशेष पूजा हुने भएकाले सोही अवसरमा डोल पठाइने नगर प्रमुख हमालले जानकारी दिए।
पुजारी नेत्रप्रसाद पाध्यायका अनुसार बडीमालिका मन्दिरमा वर्षमा दुई पटक विशेष पूजासहित मेला लाग्ने गर्दछ। उनले भने, “धनगढीले डोल पठाउने निर्णय धार्मिक एकताको उदाहरण हो। मेयरज्यूको बडीमालिकामा पूजा मैले नै सम्पन्न गराएको थिएँ।”
बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सम्भावनाले भरिपूर्ण मानिन्छ। राणाकालदेखि चल्दै आएको डोटी र जुम्लाबाट डोल पठाउने परम्परामा धनगढीको सहभागिता थपिँदा यो क्षेत्रको धार्मिक महत्व अझै बढ्ने विश्वास गरिएको छ।