
धनगढी । धनगढी उपमहानगरपालिकाको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाली निर्माणको काम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सो नाली निर्माणको शिलान्यास गरेका हुन्।
बर्षातको पानीलाई मोहना नदीमा फाल्न धनगढी उपमहानगरपालिका-२ र ३ क्षेत्रमा २,८१५ मिटर लामो नाली निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण गर्न सात महिनापछि काम सुरु गरेको हो।
मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा १,३६५ मिटर र पश्चिम क्षेत्रमा १,४५० मिटर लामो नाली निर्माण हुनेछ। पूर्व क्षेत्रमा ११ करोड २० लाख र पश्चिम क्षेत्रमा १२ करोडको लागत अनुमान गरिएकोमा एमबीरशुभलक्ष्मीरआदर्श जेभी र सनराइजरचन्द्र विकासरमस्टा जेभीले क्रमशः ७ करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा र ६ करोड ५ लाख १ हजार ८३२ रुपैयाँ ५२ पैसामा ठेक्का पाएका छन्।
नाली निर्माण २०८३ वैशाख १६ गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। नाली निर्माणका लागि च्याम्बरहरू र सफाइ गर्न होलहरू पनि बनाइनेछ। इन्जिनियर पुष्प भट्टका अनुसार, सडक क्षेत्राधिकार खाली भएकाले निर्माण कार्यमा कुनै अवरोध नहुनेछ।
धनगढी उपमहानगरपालिकाले ६ लेन सडकका कारण डुबान समस्या भइरहेको बताउँदै विस्तृत योजना प्रतिवेदन (DPR) तयार गरेको थियो। यो योजना पूरा भएपछि डुबान समस्या समाधान हुने अपेक्षा गरिएको छ।