
कञ्चनपुर । प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको १३औँ अडिसन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित सिद्ध वैजनाथमा सम्पन्न भएको छ।
उक्त अडिसनमा गायन विधामा ५ र नृत्य विधामा ३ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक महेश प्रसाद अवस्थीले नृत्य र गायनजस्ता प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्याउने बताउँदै यस्ता कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिए।
एसईई आइडलको यस चौथो संस्करणमा सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानमा अडिसन गरिने आयोजकले जानकारी दिएको छ। यस प्रतियोगितामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्।
कार्यक्रमको सेमिफाइनल २०८२ वैशाखमा आयोजना हुनेछ, जहाँ नृत्य र गायन विधाका ३०/३० जना प्रतिस्पर्धीले स्थान पाउनेछन्। त्यस्तै, उत्कृष्ट १५/१५ जना प्रतिस्पर्धी २०८२ असार १ गते हुने फाइनलमा प्रवेश गर्नेछन्।
फाइनल चरणमा दुवै विधाका १/१ जना विजेतालाई रु ७५ हजार नगद, कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति, र १/१ जना उपविजेतालाई रु ३० हजार नगद र आंशिक छात्रवृत्ति प्रदान गरिनेछ। दुवै विधाका शीर्ष ५ प्रतिस्पर्धीले पनि आंशिक छात्रवृत्तिका साथ अन्य प्रोत्साहनहरू पाउनेछन्।
गत तीन संस्करणको सफलतापछि यो चौथो संस्करणमा पनि प्रतियोगिता अझ भव्य र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।