
धनगढी, माघ २० – क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढीले शानदार जित हात पारेका छन्। गो ड्रीमरस्को आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिनको खेलमा अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो भने डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गर्दै पहिलो जित दर्ता गर्यो।
अत्तरियाको धमाकेदार प्रदर्शन
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सिवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६४ रन बनायो। कप्तान भीम सार्कीले ३३ बलमा ७० रनको आकर्षक अर्धशतक प्रहार गरे, जसमा ४ छक्का र ६ चौका सामेल थिए। तृपराज दासले ३०, शंकर रानाले २५ र विवेक यादवले १७ बलमा अविजित २५ रन बनाए। बैतडीका अमरसिंह रौटेलाले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।
जवाफमा बैतडीले ९ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो। हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए भने बसन्त खत्रीले २३ र सुमित बडालले १८ रनको योगदान गरे। अत्तरियाका विवेक यादवले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्दै नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच घोषित भए। उनले नगद १० हजार र ट्रफी प्राप्त गरे।
डिसिए धनगढीको पुनरागमन जित
पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ विरुद्ध पुनरागमन जित दर्ता गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ९ विकेट गुमाउँदै १४९ रन बनायो। राजु रिजालले २७ बलमा ३७ रन बनाए भने लोकेश बमले ३१, अभिषेक पालले २८, र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए। घोडाघोडीका धर्मराज जोशीले ३ विकेट र नरेन साउँदले २ विकेट लिए।
लक्ष्य पछ्याउन मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो। टेक रावतले १८ रन र दिपक टमाट्टाले १३ रन बनाए। डिसिएका ललीत राजवंशीले ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए र नगद १० हजार सहित ट्रफी प्राप्त गरे।
आगामी खेल र पुरस्कार व्यवस्था
प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं भिड्नेछन्। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।
अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, र उत्कृष्ट ब्याट्सम्यान, बलर तथा उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा देशभरका ८ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा छन् भने समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।