कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार पूर्वप्रधानाध्यापक, नगर सिकाइ सहयोग अनुदान, राहत अनुदान तथा बालविकास शिक्षकहरूको सरुवा नगर क्षेत्रभित्रकै विद्यालयमा गरिनेछ।
शिक्षकहरूले सरुवा हुन चाहेको विद्यालयहरूको प्राथमिकता सूचीसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्नेछ। तहगत प्रधानाध्यापक व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरका अनुसार ७२ नगर शिक्षकसहित विभिन्न तहका २३९ शिक्षकको दरबन्दी मिलान र व्यवस्थापन गरिने छ।
यसअघि कार्यदलको सिफारिसमा २८ प्रधानाध्यापक र २४ विषयगत शिक्षक व्यवस्थापन गरिएको थियो। साथै, न्यून विद्यार्थी संख्या भएका चार विद्यालय समायोजन र दुई विद्यालयको तहगत मिलान गरिएको थियो।
नगरपालिकाले विद्यालयका भौतिक तथा शैक्षिक समस्या समाधान गर्दै दश वर्षे नगर शिक्षा योजना कार्यान्वयन गर्ने योजना बनाएको छ। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार शिक्षण प्रणाली सुधार गर्दै सामुदायिक विद्यालयमा स्थायी प्रधानाध्यापक व्यवस्थापन गरिएको छ।