धनगढी । पत्रकार तथा साहित्यकार दीर्घराज उपाध्यायद्वारा लिखित कविता सङ्ग्रह ‘आमा म आउँदैछु’ धनगढीमा विशेष समारोहबीच विमोचन गरिएको छ।
ऐश्वर्य प्रकाशनको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर तथा ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।
साहित्यकार लम्सालले उक्त सङ्ग्रहमा कोरोना महामारी तथा द्वन्द्वका पीडा र आक्रोश झल्किने उल्लेख गर्दै यसले समाजको आर्थिक विकास र रूपान्तरणमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा व्यक्त गरे। त्यस्तै, डा. पन्तले समाजमा विद्यमान विकृति तथा विसंगतिहरूलाई कविताले उजागर गरेको बताए।
पत्रकार उपाध्यायले अघिल्लो भदौमा ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तक प्रकाशन गरेका थिए। उनले कोभिड महामारी तथा द्वन्द्वका समयमा भोगिएका अनुभूतिहरूलाई कवितामार्फत अभिव्यक्त गर्न खोजिएको बताए।
कार्यक्रममा साहित्यकार, पत्रकार, राजनीतिकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।