धनगढी । धनगढी उपमहानगरपालिका-१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नयाँ विद्यालय भवन निर्माण हुने भएको छ।
भारतीय सरकारको सहयोगमा पाँच करोड २७ लाख ३३ हजार ६२१ रुपैयाँको लागतमा उक्त विद्यालयको भवन निर्माण गरिनेछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत धनगढी उपमहानगरपालिकाले गत वर्ष पाँच वटा नमुना विद्यालयको भवन निर्माणका लागि डिपिआर तयार गरी भारतीय दूतावासमा पठाएको थियो। पहिलो चरणमा जुगेडास्थित सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको हो।
धनगढी उपमहानगरपालिकाका अनुसार विद्यालय भवन निर्माणको समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै बोलपत्र आह्वान गरिनेछ। निर्माण कार्य १५ महिनाभित्र सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने योजना छ।
उपमहानगरपालिकाले वडा नम्बर ९ को भवानी मावि, वडा नम्बर ११ को ठेकराज मावि, वडा नम्बर १६ को बेहडाबाबा मावि, र वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयका लागि पनि डिपिआर तयार गरी भारतीय दूतावासमा पठाइसकेको छ।
नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार ‘नेपाल-भारत विकास साझेदारी’ कार्यक्रम अन्तर्गत भारतीय दूतावासले निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउनेछ भने कुल लागतको १० प्रतिशत धनगढी उपमहानगरपालिकाले व्यहोर्नेछ।