
धनगढी । कैलालीको टिकापुरदेखि खक्रौला भारत जाने नाकासम्मको ११ किलोमिटर सडक निर्माणको काम पाँच वर्ष पुग्न लाग्दा पनि अझै अधुरो छ। २०७७ असार १४ गते सम्झौता भई ३० महिनामा सम्पन्न गर्ने शर्तमा रायमाझी गल्वा जेभीले ठेक्का लिएको उक्त सडक हालसम्म मात्र करिब ४० प्रतिशत निर्माण भएको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीय बासिन्दा तथा यात्रुहरूले सास्ती भोग्नु परेको छ भने सडककै कारण दुर्घटनाका घटनाहरू पनि बढ्न थालेका छन्।
लम्कीचुहा नगरपालिकाको पूर्व–पश्चिम राजमार्गदेखि जानकी गाउँपालिका हुँदै टिकापुर नगरपालिकाको खक्रौला नाका जोड्ने २९.७ किलोमिटर सडक निर्माण तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको थियो। पहिलो खण्ड आठ किलोमिटरको ठेक्का कालिका कुमार जेभीले लिएको थियो, जुन सम्पन्न भइसकेको छ। दोस्रो खण्ड १० किलोमिटरको निर्माण ९० प्रतिशत सकिएको छ भने तेस्रो खण्डको काम अत्यन्तै सुस्त गतिमा रहेको छ।
निर्माणमा ढिलाइ हुँदा पनि सरोकारवाला निकायहरू मौन बसेको यात्रुहरूको गुनासो छ। टिकापुर नगरपालिकाका नगर प्रमुख राम लाल डगौरा थारुले सडक निर्माणका लागि दबाब दिइरहेको बताए पनि कामले गति लिन सकेको छैन। हुलाकी राजमार्ग निर्देशनालयकी इन्जिनियर बिन्दु बुढाका अनुसार समस्या निर्माण कम्पनीकै लापरबाहीका कारण उत्पन्न भएको हो।
सडक निर्माणमा यस्तो लापरबाही हुँदा विकास निर्माणको अवस्था कस्तो होला भन्ने गम्भीर प्रश्न खडा भएको छ। स्थानीयले समयमै सडक निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।