पत्रकारलाई धम्क्याउने कार्य बन्द गरिओस् – नेपाल पत्रकार महासंघ

धनगढी – पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार रमेश उपाध्यायलाई सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा धम्की दिएको घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्।

महासंघका महासचिव शिवराज भट्ट र सचिव तेजराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारप्रति असहमति भए कानूनी उपाय अपनाउन सकिने हुँदा पत्रकारलाई धम्क्याउने कार्य असह्य रहेको उल्लेख छ। साथै, पत्रकार उपाध्याय र उनका परिवारको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

पत्रकार उपाध्यायले धनगढीका नागरिकहरूका गुनासाहरू उठाउँदै लेख प्रकाशित गरेका थिए। लेख सार्वजनिक भएपछि हमालका समर्थकहरूले सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गर्दै धम्की दिएका थिए। घटनालाई लिएर उपाध्यायले नेपाल पत्रकार महासंघ कैलाली, सुदूरपश्चिम प्रदेश समिति, तथा केन्द्रीय समितिमा निवेदन दिएका छन्।

महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारको दमन सह्य नहुने भन्दै धम्की दिनेहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै