धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालन, बिरामीलाई सहज उपचारको सुविधा

धनगढी – क्यान्सर पीडितहरूलाई गुणस्तरीय हेरचाह तथा सहज पहुँच सुनिश्चित गर्न धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याइएको छ। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले देशभर क्यान्सर उपचार सेवा विस्तार गर्ने अभियानअन्तर्गत शनिबारदेखि धनगढीमा क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

धनगढीको सेती प्रादेशिक अस्पताल लाइन अगाडि रहेको एक भवनमा स्थापना गरिएको यो क्लिनिकले क्यान्सरका बिरामीलाई व्यापक उपचार तथा परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष डाक्टर खगेन्द्र भट्टले रिबन काटेर सेवाको औपचारिक शुभारम्भ गरे।

शुभारम्भ कार्यक्रममा डाक्टर भट्टले सुदूरपश्चिममा अझै मेडिकल कलेज सञ्चालनमा नआएको हुँदा क्यान्सर उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता रहेको बताए। उनले भने, “धनगढीमा क्लिनिक सञ्चालन हुनु यस क्षेत्रका बिरामीहरूका लागि ठूलो अवसर हो। अब विस्तारै सेवा विस्तार गर्दै थप उपचार सम्भव बनाउनु आवश्यक छ।”

डाक्टर भट्टका अनुसार शुरुआती चरणमै क्यान्सर पत्ता लगाउन सके उपचार सम्भव हुने भए पनि जनचेतना र आर्थिक अभावका कारण बिरामीहरू दोश्रो वा तेश्रो चरणमा मात्र परीक्षण गराउने प्रवृत्ति रहेको छ। उनले सरकारी तथा निजी क्षेत्रबाट थप स्वास्थ्य सेवाहरू विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अधिकृत डाक्टर कपिल गौतमले पहिलो चरणमा क्लिनिक सञ्चालन गर्दै जनचेतना फैलाउने र भविष्यमा अस्पताल नै स्थापना गर्ने लक्ष्य रहेको बताए। उनले भने, “हामीले ‘नेपालीको क्यान्सर नेपालमै’ भन्ने नारासहित अस्पताल स्थापना गरेका थियौं। अब देशभर शाखा विस्तार गर्दै क्यान्सर उपचारलाई सबैका लागि सहज बनाउने लक्ष्य राखेका छौं।”

अस्पतालका निर्देशक विजेश घिमिरेका अनुसार क्लिनिकमा टेलिमेडिसिन सेवा सुरु गरिएको छ, जसले गर्दा धनगढी र आसपासका बिरामीहरूलाई विशेष हेरचाह तथा फलोअप सेवा सहज रूपमा उपलब्ध हुनेछ। उनका अनुसार भविष्यमा जटिल उपचारबाहेकका सबै सेवाहरू धनगढीबाटै प्रदान गरिनेछ

क्यान्सर केयर क्लिनिकको उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष सुदिप श्रेष्ठ, चिकित्सकहरू, अस्पताल सञ्चालकहरू, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

नयाँ क्लिनिक सञ्चालन भएसँगै धनगढी तथा सुदूरपश्चिमका बिरामीहरूले उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ। अब प्रारम्भिक परीक्षण, परामर्श र नियमित फलोअप सेवा यहीँ उपलब्ध हुने भएकाले क्यान्सर उपचारमा सहजता आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै