तीन वर्षमै दोब्बर सुधार: धनगढीका सामुदायिक विद्यालयको नतिजामा उल्लेखनीय उछाल

धनगढी, कैलाली — धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा ८) को परीक्षामा पछिल्ला तीन वर्षमा उल्लेखनीय सुधार देखिएको छ। शैक्षिकसत्र २०७९ मा मात्र ९.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका सामुदायिक विद्यालयहरूले यस वर्ष ४२.१० प्रतिशतको पास दर हासिल गर्दै उल्लेखनीय प्रगति गरेको हो।

बुधबार सार्वजनिक शैक्षिकसत्र २०८१ को नतिजा अनुसार, धनगढीका ४४ सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी २,९२९ विद्यार्थीमध्ये १,२३३ जना उत्तीर्ण भएका छन्। यो संख्या गत वर्षको तुलनामा ११.३१ प्रतिशतले बढी हो। २०८० मा सामुदायिक विद्यालयतर्फ ३०.७९ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए।

उपमहानगरपालिकाको युवा, खेलकुद तथा शिक्षा महाशाखाले परीक्षामा कडाइ गरेपछि शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहितको प्रयास क्रमशः सफल हुँदै गएको जनाएको छ। महाशाखा प्रमुखका अनुसार, विद्यालय तहमा निरन्तर अनुगमन, शिक्षक प्रशिक्षण र विद्यार्थी केन्द्रित कार्यक्रमले नतिजामा सकारात्मक असर पारेका छन्।

संस्थागत विद्यालयतर्फ भने पास दर अझै उच्च रहेको छ। यस शैक्षिकसत्रमा ६३ संस्थागत विद्यालयबाट ८४.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सामुदायिक र संस्थागत विद्यालय गरी कुल १०७ विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ६१.५५ प्रतिशत उत्तीर्ण भएका छन्।

गत वर्ष यो दर ५१.४० प्रतिशत थियो भने २०७९ मा ३२.७८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए। यसले धनगढीमा शिक्षा क्षेत्र सुधारतर्फ सकारात्मक संकेत देखिएको विश्लेषण गर्न सकिन्छ।

शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि अझै धेरै काम गर्न बाँकी रहेको उपमहानगरले जनाएको छ। तर, पछिल्ला वर्षहरूको नतिजा क्रमशः सुधार हुनु समुदायिक विद्यालयप्रति बढ्दो विश्वास र लगावको संकेतसमेत मानिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै