
धनगढी, कैलाली – धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाका बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ। उपमहानगरले चैत २५ देखि २९ गतेसम्म विभिन्न पाँच स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरपश्चात् तीन दिनसम्म आयुर्वेद पद्धतिमा आधारित शल्यक्रिया कार्य अघि बढाएको हो।
किर्तिपुर आयुर्वेद अस्पतालका सर्जन डा. मदन भण्डारीको नेतृत्वमा शल्यक्रिया भइरहेको जानकारी आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डा. रविन्द्रकुमार यादवले दिएका छन्। शिविर वडानम्बर १८, १६, ११, १० र ४ मा सञ्चालन गरिएको थियो, जसमा २५६ जना बिरामीलाई उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरमा आएका बिरामीमध्ये ५३ जनालाई छारसुत्र विधिबाट शल्यक्रिया गर्न सिफारिस गरिएको थियो। तीमध्ये बैशाख ३ गते १६ जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने बाँकी बिरामीको बैशाख ४ र ५ गते उर्मा आयुर्वेद औषधालयमा शल्यक्रिया हुने डा. यादवले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाले नियमित रूपमा वडास्तरीय विशेषज्ञ क्लिनिक तथा विभिन्न खालका निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। यसपटक पायल्स, फिसर र फिस्टुलाका बिरामीलाई लक्षित गर्दै गरिएको यो सेवा उपमहानगरको स्वास्थ्य क्षेत्रमा थप सकारात्मक पहलको रूपमा हेरिएको छ।