
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतको कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनबाट कमल कुमार ऐडी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिले २०८२ वैशाख ४ गते स्ववियुको नयाँ कार्यसमिति औपचारिक रूपमा घोषणा गरेको हो। २०८१ चैत २७ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समावेशसहितको कार्यसमिति सार्वजनिक गरिएको हो।
समानुपातिक सदस्यहरूमध्येबाट विश्वविद्यालय कार्यविधिको दफा ११ को उपदफा ५ बमोजिम उपाध्यक्ष चयन गर्न निर्वाचन समितिले पत्राचार गरेअनुसार, कार्यसमितिको पहिलो बैठकको निर्णयका आधारमा कमल कुमार ऐडी उपाध्यक्षमा चयन भएका हुन्। त्यसैगरि सहसचिवमा कुवेरराज जैशि निर्वाचित भएका छन् ।
बझाङ जिल्लाको बुंगल नगरपालिका पुख्र्यौली घर भई हाल धनगढी उपमहानगरपालिका–१९ मा स्थायी बसोबास गर्दै आएका ऐडी यसअघि २०७९ सालमा भएको स्ववियु निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए।
उपाध्यक्षमा निर्वाचित भएपछि ऐडीलाई स्ववियु, क्याम्पसका विद्यार्थी र शुभेच्छुकहरूबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। क्याम्पसको समग्र विकास र विद्यार्थीका हक–हितको संरक्षणमा उनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।