
धनगढी, कैलाली – धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत सडकमा बत्ती जडानको काम पुनः सुरु गरेको छ। हालै धनगढी–स्याउले सडकको पोलहरूमा बत्ती जडान कार्य अगाडि बढाइएको हो।
अभियान अन्तर्गत कुल ९५४ वटा बत्तीहरू विभिन्न सडकहरूमा जडान गरिने जनाइएको छ। धनगढी–दीपायल द्रुतमार्ग, हुलाकी राजमार्ग, राजपुल–भन्सार रिङ्ग रोड, क्याम्पस चोक–जाखोरताल सडक, तथा बेहडाबाबा मन्दिरतर्फ जाने पथरी क्षेत्रका पोलहरूमा बत्ती जडान भइरहेका छन्।
धनगढी उपमहानगरपालिकाका अनुसार भिडभाड तथा जनघनत्व धेरै हुने स्थानहरूमा १२० वाटका बत्ती जडान गरिँदैछ भने कम जनघनत्व भएका क्षेत्रमा ५० वाटका बत्ती प्रयोग गरिनेछ। यस कार्यको लागि ४४ लाख रुपैयाँभन्दा बढीको लागतमा ठेक्कामार्फत काम अघि बढाइएको हो।
यसअघि पनि अत्तरिया–धनगढी ६ लेन सडक, चौराहा–कैलाली पुल खण्ड तथा सहरी विकासले निर्माण गरेका सातवटा सडकहरूमा विद्युतीकरण कार्य सम्पन्न भइसकेको छ। साथै, धनगढीका प्रमुख चोक र बजार क्षेत्रमा हाइमास्क लाइटसमेत जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियानलाई निरन्तरता दिँदै क्रमिक रूपमा अन्य क्षेत्रहरूमा पनि बत्ती जडान कार्य अगाडि बढाइने जनाएको छ।