
धनगढी, कैलाली — सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा आज धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्, जसमा १० जना पहिलोपटक रक्तदान गर्ने रक्तदाता रहेका छन्।
सहकारीका अध्यक्ष दीर्घराज जोशीका अनुसार गर्मीयामसँगै बढ्ने रक्त आवश्यकतालाई ध्यानमा राख्दै वार्षिकोत्सवलाई मानव सेवामा रूपान्तरण गरिएको हो। कार्यक्रममा सहभागी पहिलोपटक रक्तदान गर्ने व्यक्तिहरूले अबदेखि प्रत्येक ३ महिनामा नियमित रक्तदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई सहकारीका प्रमुख कार्यकारी अधिकृत टिकाराम जोशीले प्रशंसा पत्र प्रदान गरेका थिए। प्राविधिक सहजीकरण भने धनगढीस्थित प्रादेशिक रक्तसंचार केन्द्रले गरेको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य दूत तथा सर्वाधिक रक्तदाता दीपक उपाध्यायलाई विशेष सम्मान गरिएको थियो। उनलाई सहकारीका अध्यक्ष दीर्घराज जोशी र सचिव हरि धामीले खादा र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका थिए।