
काठमाडौँ। बाँके जिल्लामा ट्राफिक प्रहरीमा जनशक्तिका रूपमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारी साधनको चाप दैनिक बढिरहेको छ ।
जिल्लाका १९ वटा ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण रहेका छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक, स्कुटर र मोटरसाइकल रहेका छन् । तीव्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी साधन चलाउने गरेका कारण बढी दुर्घटना भएका छन् ।
बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख सुनारले सङ्गठनभित्र आर्थिक अनुशासनलाई सदृढ बनाउने र ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधै आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारी साधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढछु ।” कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उहाँले पैदलयात्रु, विद्यार्थी र मजदुरहरूलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताउनुभयो ।
“यहाँ मापसे गरेर सवारी साधन चलाउने प्रवृत्ति बढी देखियो”, उहाँले भन्नुभयो, “जसका कारण हुने मानवीय क्षति रोक्न मापसे चेकजाँचलाई कडाइ गरिनेछ ।” जिल्लाको सबैभन्दा ठूला सहर नेपालगञ्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगञ्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतीपूर्ण रहेको छ ।
नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी, ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति भए पनि मुख्य बजार क्षेत्र त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल, मालपोत कार्यालय क्षेत्र वरवर भने ट्राफिक प्रहरीको उपस्थिति छैन । त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारी चालक भाग्नेसमेत गरेका छन् ।
चार हजारभन्दा बढी सवारी कारबाहीमा
जिल्लामा प्रत्येक महिना हुने दुर्घटनामा मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षको चैत महिनामा दुर्घटनामा परी कसैको ज्यान गएको छैन । ट्राफिक प्रहरीले चैत महिनामा मात्रै चार हजार पाँच सय ५० सवारी साधनलाई कारबाही गरेको छ ।
सो कारबाहीबाट रु २७ लाख ७८ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । चैत महिनामा भएको दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुनारले चेकजाँच, जरिवाना र कारबाहीसँगै सचेतनाका कार्यक्रम पनि सँगसँगै अगाडि बढाएको बताउनुभयो । “दुर्घटना नहोस्, कसैको ज्यान नजाओस् भन्ने उद्देश्य हो”, उहाँले भन्नुभयो, “म भर्खरै आएको हुँ, चैत महिनामा कसैको दुर्घटनामा ज्यान नजानुलाई सफलताका रूपमा लिएको छु ।”
सडक दुर्घटना विविध कारणले हुन्छन् । तीव्र गतिमा सवारी साधन चलाउनु, मापसे गरेर सवारी चलाउनु, खराब सडक दुर्घटनाका कारण हुन् । खराब सडक बाहेकका कारण ट्राफिक प्रहरीले नियन्त्रणमा लिन सक्दछ । ट्राफिक प्रहरीले चैतमा मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने दुई सय तीनजनालाई सचेतना कक्षा सञ्चालन गरेको छ ।
ट्राफिक प्रहरीले चेकजाँचमा लागूऔषध तथा मादक पदार्थ सेवन गरी सञ्चालन गरेको पाएमा सवारी नियन्त्रणमा लिने, भोलिपल्ट कक्षा लिएर मात्रै जरिवाना गरेर सवारी फिर्ता दिने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके सरकारी तथा निजी सङ्घसंस्थासँग पनि ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमका लागि समन्वय गरिरहेको छ । “हामी पनि सडकमा पुगेर ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी भएका छौँ”, भोलेन्टियर सोसाइटी अफ बाँके नेपालका अध्यक्ष दीपकबहादुर शाहीले भन्नुभयो ।
बाँके ट्राफिक प्रहरी प्रमुख सुनारले ट्राफिक जनचेतनाका सम्बन्धमा विद्यार्थी, सरकारी क्षेत्रलगायतका लागि कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । “ट्राफिक नियमन र व्यवस्थापनको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न निकै चुनौती छ, नेपालगञ्ज, कोहलपुर र खजुरा बजारमा विशेषगरी अव्यवस्थितरूपमा रहेको ई–रिक्सालाई नियमन गर्न नसक्दा दुर्घटना झन् बढिरहेको छ ।”
ई–रिक्सालाई नियमन गर्न स्थानीय निकायको भूमिका भएकाले यो समस्या तत्काल समाधान भएमा बजार क्षेत्रको आधाभन्दा बढी ट्राफिक व्यवस्थापन हुने ट्राफिक प्रमुख सुनारले बताउनुभयो । यता नेपालगञ्ज उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापनका लागि पुनः १५ दिने सूचना प्रकाशन गरेको छ । उपमहानगरपालिकाले ई–रिक्साहरूलाई नियमन गर्न पटक पटक प्रयास गर्दा पनि रिक्सा व्यवसायीहरूको अटेरीका कारण समस्या भएको नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो । उहाँका अनुसार सूचनामार्फत नआउने रिक्सालाई कडा कानून निर्माण गरी नियमन गरिनेछ ।