
धनगढी । धनगढी स्थित देवहरिया वनस्पति उद्यानको विकास गुरुयोजना अनुसार गरिने भएको छ। संघीय सरकार मातहतको वनस्पति अनुसन्धान केन्द्र धनगढीले उद्यान विकासको गुरुयोजना बनाउन लागेको हो। उद्यानमा वनस्पति अनुसन्धान, संरक्षण तथा विकास एवं जडिबुटी विकास कार्यक्रम सञ्चालनमा छन्। १४९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानलाई पर्यापर्यटन र शैक्षिक गन्तव्य बनाउने योजना छ।
धनगढी उपमहानगरपालिका कार्यालयदेखि करिब ३ किलोमिटर टाढा धनगढी-७ मा रहेको देवहरिया वनस्पति उद्यान विकास गर्न १० वर्षीय गुरुयोजना बन्न लागेको हो। १२ दशमदव ५५ हेक्टरमा फैलिएको जाखौर तालसहित उद्यानको विकास गर्न गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ।
जैविक विवधता र सिमसार क्षेत्रसमेत रहेको देवहरिया वनस्पति उद्यानलाई शैक्षिक एवं अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बनाइन लागेको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए। उनले उद्यानलाई शैक्षिक केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न गुरुयोजना बन्न लागेको बताए। उद्यानलाई शैक्षिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र पर्यापर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न दस वर्षीय गुरुयोजन बन्न लागेको हो,उनले भने, गुरुयोजना अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा हाल भइरहेका कामका अतिरिक्त थप काम र अनुसन्धानसमेत गरिनेछ।
पर्याप्त खुला ठाउँ र ताल क्षेत्रसमेत रहेको देवहरियामा वनस्पति उद्यान व्यवस्थापन तथा सौन्दर्यकरणका लागि मौसमी र बहुवर्षीय शोभनीय फूल बिरुवा उत्पादन गरिन्छन्। उद्यान भित्र थिमेटिक गार्डेनहरू बनाइएका छन्। थिमेटिक गार्डेनमा जडिबुटी बाटिका, जर्मप्लाज्म बाटिका, चुरे बाटिका, जलीय बाटिका, साइटिस बाटिका, फोहोरा बाटिका, शान्ति बाटिका, विश्राम बाटिका, हेज बाटिका व्यवस्थापन गरिएको छ।
यस्तै, अलङ्कारिक बाटिका, ट्याक्सेनोमिक बाटिका, इथ्नो वोटानिकल वाटिका गुलाव बाटिका, ढुङ्गे वाटिका, बगम्बेली वाटिका तथा क्याक्टस वाटिका रहेका छन्। बन्न लागेको गुरुयोजनामा वनस्पति उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानको रुपमा विकास गरिने वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए। देवरिया उद्यानलाई मुलुककै उत्कृष्ट उद्यानका रुपमा विकास गर्न अध्ययन अनुसन्धान र संरक्षण सम्बन्धि कार्यहरूलाई बढावा दिने उद्येश्य राखिएको छ, उनले भने, मनोरञ्जनात्मक क्रियाकलापका साथै पर्यापर्यटनमा टेवा पुग्ने कार्यक्रमहरू मास्टर प्लानमा समेटेका छौँ। यसलाई विश्वकै नमुना र उत्कृष्ट उद्यान बजाउन सकिन्छ।