
धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक शत्र २०८० मा ग्रामीण क्षेत्रका ५ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडी बढाउँदै गुणस्तर सुधारका लागि प्रयास गरिरहेको छ । ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि घोषणा गरिएको विद्यालय मध्ये फूलवारी क्षेत्रबाट धनगढी १८ ए गाउँको चन्द्रोदय माध्यामिक विद्यालय नमुना विद्यालयको सुचीमा परेको थियो ।
नमुना घोषणा पछि उपमहानगरपालिकाले चन्द्रोदय मा भौतिक पुर्वाधार,जनशक्ति लगायत विभिन्न शिर्षकमा लगानी गरि सुधार गर्ने प्रयास गरिरहेको छ । छोटो समयमा नै विद्यालयको वातावरणीय पक्ष र शैक्षिक पक्षमा व्यापक सुधार भएको देख्न सकिन्छ भने भौतिक पक्षमा सामान्य सुधार देखिएको छ भने व्यापक सुधार देख्न केही समय लाग्ने देखिन्छ ।
विद्यालयका नव युक्त प्रधानाध्यापक केशव सिंह भाटका अनुसार विद्यालयमा ग्रास रुट क्रिकेट प्रशिक्षणका लागि पिच निर्माण,प्रत्येक कक्षा कोठामा स्मार्ट बोर्ड जडान,वृक्षारोपण,आठ कोठे भवन निर्माणका लागि बजेट विनियोजन,फोहोर व्यवस्थापनका लागि डस्टबिन उपलब्ध गराई चन्द्रोदय को मुहार फेर्ने प्रयास भइरहेको छ ।
नमुना विद्यालयमा छनोट भएको पहिलो शैक्षिक शत्रको कक्षा ८ र १० को नतिजामा चन्द्रोदय मावि केही कमजोर देखिएपनि कक्षा १२ को नतिजामा भने निकै सुधार गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर संगै नतिजा सुधार गरिदै लगिने प्रधानाध्यापक भाटको भनाई छ ।
चन्द्रोदय माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुरज परियारले नमुना विद्यालयको रुपमा विकास भएसंगै विद्यालय सकारात्मक अवस्थामा रहेको बताए । उनले उपमहानगरपालिकाले गरेको लगानीलाई प्रतिफलमा रुपान्तरण गर्न अतिरिक्त कक्षा संचालन गरिने बताए । शैक्षिक नतिजा सुधारका लागि विद्यालय परिवार लागिपरेको उनको भनाई छ ।