धनगढीमा ६ जनाले गरे ७ लाख बढीको फूल बिक्री

धनगढी । धनगढीमा ६ जना पुष्प व्यवसायी किसानले ७ लाख १० हजारको फूल बिक्री गरेका छन्।

दशैतिहारको अवधिमा मात्रै ६ जना पुष्प व्यवसायी किसानले ७ लाखभन्दा बढीको फूल तथा माला बिक्री गरेका हुन्।

धनगढी उपमहानगरपालिकाको फूलमा आत्मनिर्भर हुने लक्ष्यअनुसार तालिम लिएका ६ जना किसानले व्यावसायिक फूल खेती गरेका छन्।

धनगढी–१२ जुगेडा ‘सी’ गाउँकी कृतिका सिंहले यो वर्ष तिहारमा मात्रै एक लाख ५० हजारको फूल बिक्री गरेकी छन्। उनले यो वर्ष पाँच कट्ठा जग्गामा सयपत्री लगाएकोमा बजारमा प्रतिस्पर्धा हुँदा मूल्य पाउन भने समस्या भएको गुनासो गरेकी छन्।

यस्तै, जुगेडा सी गाउँकै कुमारी आशा पन्त मिश्रले चार कट्ठामा लगाएको फूलबाट दशैंतिहारको अवधिमा एक लाख १० हजार आम्दानी गरेकी छन्। यो वर्ष भारतबाट धनगढीमा फूल नभित्रिएकाले स्थानीय किसानलाई बजारीकरणमा सहयोग पुगेको उनले बताइन्।

धनगढी–८ मोतीचोकका पुष्प व्यवसायी जोगेन्द्रसिंह सेटीले ६ कट्ठामा लगाएको सयपत्री फूल भाइटीकाको अघिल्लो दिनमै बिक्री भएको थियो। यो पटक सेटीले दशैंतिहारमा २ लाख ५० हजारको फूल बिक्री गरेका हुन्।

दुई बिघामा पुष्पखीती गरेको बताउने धनगढी–६ मटियारीकी सुशीला बिष्टले यो वर्ष ४ लाखको फूल बिक्री गरेकी छन् भने धनगढी–४ की रिता अवस्थीले तिहारमा मात्रै एक लाखको फूल बिक्री गरेकी छन्। यस्तै दशैंतिहारमा दुई लाख ५० हजारको फूल बिक्री गरेको धनगढी–१३ का किसान पुष्करसिंह बिष्टले बताए।

यो वर्ष फूल बिक्री नहुने समस्या हटे पनि स्थानीय बजारमा फूलको उचित मूल्य पाउन समस्या भएको पुष्प व्यवसायी किसानका गुनासो छ ।

धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न इच्छुक किसानलाई गत वर्ष तालिम दिएको थियो। किसानलाई पुष्पखेती र सजावट सम्बन्धी तालिम दिइएको थियो। उपमहानगरले किसानलाई बिउ, मल विषादी, सिँचाइ तथा बजारीकरणमा समेत सहयोग गरेको छ।

स्थानीय बजारमा बिक्री नभएको फूल काठमाडौं पठाउन किसानलाई उपमहानगरले हवाई भाडामा सहुलियतका लागि पहल गर्नुका साथै नगद अनुदान समेत दिएको छ।

उपमहानगर क्षेत्रका कृषकले उत्पादन गरेको फूल काठमाडौँ पढाउँदा हवाईजहाजको भाडा प्रति केजी २ सय पर्न जाने भएकाले उपमहानगरले एयरलाइन्ससँग समन्वय गरेर किसानको सहजताका लागि अहिले ९० रुपैयाँ प्रति केजीका दरले हवाईजहाज मार्फत फूल काठमाडौँ पठाइरहेको नगरप्रमुख हमालले बताएका छन्।

यस्तै कृषकको सहजताका लागि धनगढी उपमहानगरले फूलका लागि चिस्यान केन्द्र पनि बनाएको र त्यसको बिजुली र कर्मचारीको खर्च पनि उपमहानगर स्वयंले बेहोरिरहेको उनले बताएका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै