
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताललाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारले प्रस्ताव गरेको छ। सेतीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा गाभ्न प्रदेश सरकारले प्रस्ताव गरेको हो।
चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई सङ्घीय सरकारमा फिर्ता पठाउने प्रस्ताव गरिएको छ। चाँडो चिकित्सा शिक्षाको पठनपाठन गर्न कानुनी समस्या रहेको दाबी गरिएका बेला प्रदेश सरकारले सञ्चालनमा रहेको सेती अस्पताल सङ्घीय सरकारलाई फिर्ता गर्न तयार रहेको बताएको हो। सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेका छन।
विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा ९देउवा०, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल लगायतसँग छलफल भएको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘सेतीलाई संघमा हस्तान्तरण गर्ने। गेटा विश्वविद्यालय सुरु गर्ने। सेवा विस्ता गर्न स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छु। पहिलो चरणमा स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरे। दोस्रो चरणमा प्रधानमन्त्री ज्यू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग पनि छलफल गरेको छु।’