फूलवारी ट्राफिक इन्चार्ज बिष्टद्वारा जनजागृति माविमा ट्राफिक सचेतना कक्षा सञ्चालन

धनगढी ।अस्थायी ट्राफिक पोस्ट फूलवारीका इन्चार्ज सिद्धराज बिष्टले जनजागृति माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चा लन गरेका छन्।

आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १४, डि गाउँमा अवस्थित जनजागृति माविमा कक्षा १२ सम्मका विद्यार्थीलाई साइकल चलाउँदा अपनाउनुपर्ने सावधानी, पैदल यात्रा, र बाटो काट्ने तरिकाबारे जानकारी गराइएको छ। इन्चार्ज बिष्टले विद्यार्थीलाई ट्राफिक नियमको महत्त्व र त्यसको पालनाले दुर्घटनाको जोखिम घटाउन मद्दत गर्ने कुरा स्पष्ट पारे।

उनले  साइकल चलाउँदा ध्यान दिनुपर्ने सावधानी, बाटो काट्दा ध्यान दिनुपर्ने कुरा, र मोटरसाइकल तथा बसजस्ता सवारी साधन चलाउँदा अपनाउनुपर्ने नियमबारे प्रशिक्षण दिएका छन्। उनले विद्यार्थीलाई जुनसुकै प्रकारका सवारी साधन प्रयोग गर्दा हुनसक्ने दुर्घटनाबाट बच्ने उपायबारे अवगत गराएका हुन्।

फूलवारीको हुलाकी सडकमा तीव्र गतिमा सवारी साधन आवतजावत गर्ने भएकाले विद्यार्थीहरूमा दुर्घटनाको जोखिम रहेको र त्यसैलाई ध्यानमा राख्दै ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको बिष्टले जानकारी दिए।

जेठ महिनादेखि फूलवारी ट्राफिक पोस्टको जिम्मेवारी सम्हालिरहेका बिष्टले विद्यालयहरूमा ट्राफिक नियमबारे जानकारी दिन सक्रिय कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। पोस्टर, पम्पलेट वितरणदेखि विद्यालय स्तरका सचेतना कार्यक्रमले ट्राफिक नियम पालन गर्न प्रेरित गर्ने उनको विश्वास छ।

विद्यार्थीहरूलाई ट्राफिक नियमबारे सुसूचित गर्न यस किसिमका सचेतना कक्षाले ट्राफिक नियम पालना गर्ने संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै