धनगढी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार सुशासन र जनताको पक्षमा उभिन नसकेको आरोप लगाएका छन्।
शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारलाई संरक्षण गर्नेतर्फ लागेको टिप्पणी गरे। ‘यो सरकार सुशासनको पक्षमा छैन, बरु आफ्ना भ्रष्टाचारीलाई जोगाउन उद्यत छ,’ प्रचण्डले भने, ‘बिचौलियाका लागि मात्रै काम गरिरहेको सरकारप्रति जनता निराश छन्।’
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानका कारण सरकार ढालिएको दोहोर्याउँदै माओवादी पुनः सरकारको नेतृत्व गरेर नयाँ अभियान थाल्ने दाबी गरे।
उनले भारत र चीनसँग विद्युत व्यापार सम्झौता लगायतका ऐतिहासिक कार्य गरेको दाबी गर्दै कञ्चनपुर र दार्चुलाको सीमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट छलफल गरेको बताए।