
धनगढी – सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा आजदेखि निःशुल्क रक्तसेवा सुरु भएको छ। प्रदेश सरकार र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको सहकार्यमा यो सेवा लागू गरिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले बिरामीका आफन्त रोशन चौधरीलाई निःशुल्क रक्त प्रदान गर्दै सेवाको औपचारिक उद्घाटन गरे। उनले आफ्नो दोस्रो कार्यकालको प्रारम्भमै यो महत्वपूर्ण निर्णयलाई पहिलो प्राथमिकता दिएको स्मरण गराउँदै प्रदेश सरकार जनताको स्वास्थ्यप्रति प्रतिवद्ध रहेको बताए।
“रेडक्रस निःस्वार्थ सेवामा आधारित संस्था भएकाले प्रदेश सरकारले यससँग सहकार्य गरेको हो। हामीले चाहेको खालको विश्वास, पारदर्शिता र सेवा प्रदान गर्न रेडक्रस सक्षम छ,” मुख्यमन्त्री शाहले बताए। साथै, रेडक्रसकर्मीहरूलाई जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे।
सामाजिक विकास मन्त्री मेघराज खड्काले निःशुल्क रक्तसेवाले विशेषगरी विपन्न वर्गलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरे।
यो अवसरमा, सुदूरपश्चिममा १०७ पटक रक्तदान गरेर उदाहरणीय भूमिका निर्वाह गर्ने दीपक उपाध्यायलाई “रक्तदान सद्भावना दूत” नियुक्त गरियो।
निःशुल्क रक्तसेवाको यो योजना प्रदेशकै स्वास्थ्य क्षेत्रको ऐतिहासिक कदम मानिएको छ, जसले हजारौं बिरामीको जीवनरक्षामा महत्वपूर्ण योगदान दिनेछ।