धनगढी – सुदूरपश्चिम प्रदेशका अग्रणी रक्तदाता तथा पत्रकार दीपक उपाध्यायलाई “रक्तदान सद्भावना दूत” मा नियुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपाध्यायलाई यो सम्मान प्रदान गरेको हो।
धनगढीमा आयोजित निःशुल्क रक्तसेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले विशेष सम्मानका साथ उपाध्यायलाई रक्तदान सद्भावना दूतको उपाधि प्रदान गरे।
दीपक उपाध्यायले आफ्नो जीवनको लामो समय रक्तदान मार्फत बिरामीको जीवन बचाउन समर्पित गर्दै आएका छन्। उनले रक्तदान मात्र होइन, विभिन्न संघसंस्था र व्यक्तिहरूलाई रक्तदानका लागि प्रेरित गर्दै समाजमा उदाहरणीय भूमिका निभाएका छन्।
धनगढी निवासी उपाध्यायले हालसम्म १०७ पटक रक्तदान गरेका छन्। बिरामीका आफन्तले रगतको आवश्यकता परेमा उनलाई पहिलो रोजाइका रूपमा सम्पर्क गर्ने गरेका छन्। उनको यो योगदानले समाजमा रक्तदानको महत्त्व र आवश्यकताप्रति जनचेतना फैलाउन मद्दत गरेको छ।
उपाध्यायको यो नियुक्ति सुदूरपश्चिम प्रदेशको रक्तदान अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।