
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८, डिपो बजारस्थित एन.एस. स्टेडियममा भोलि पुष २३ गतेदेखि सुदूरपश्चिम लोक सांस्कृतिक महोत्सव “फूलवारी” सुरु हुने भएको छ। सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा पुष २३ देखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन भोलि बिहान ११ बजे सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गर्ने कार्यक्रम छ। पहिलो दिन वरिष्ठ देउडा गायिका डिग्रा देवी गाइने र लोकप्रिय गायक सुनिल नेपालीको मुख्य प्रस्तुति रहनेछ।
उद्घाटन समारोहमा सांस्कृतिक झाँकीहरू, पहाडी समुदायमा खेलिने भुवो नाच, देउडा नाच, तथा विभिन्न विद्यालयका आकर्षक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिनेछ। कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजित यो महोत्सवमा प्रवेश निशुल्क रहनेछ। आयोजकले महोत्सवमा सहभागिता जनाउन सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।