
काठमाडौं। डोनाल्ड ट्रम्पले ४७औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित समारोहमा प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए।
रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। यसअघि, उनी सन् २०१६ मा पहिलो पटक अमेरिकी राष्ट्रपति बनेका थिए।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत मन्त्रीहरू, र उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। अत्यधिक चिसो मौसमका कारण यसपटक कार्यक्रम खुला स्थानमा आयोजना गरिएको थिएन।
शपथ ग्रहणपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी गरे। शान्ति निर्माणकर्ता र एकीकरणकर्ताको भूमिकामा अमेरिका पुनः विश्वलाई नेतृत्व गर्ने ट्रम्पको विश्वास थियो। उनले भने, “यो देश फस्टाउने छ र सम्मानित हुनेछ।”
शपथ ग्रहणसँगै ट्रम्पले अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्ने, ड्रग्स तस्करलाई आतंकवादी घोषणा गर्ने, र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने तयारी गरिरहेको बताइएको छ।