कृष्णपुरमा पानीपिच अभियानको तीव्रता: यस वर्ष ४५ किलोमिटर सडक निर्माण लक्ष्य

धनगढी। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थोरै बजेटमा ठूला उपलब्धिहरू हासिल गर्ने योजनाअन्तर्गत यस वर्ष ४५ किलोमिटर सडक पानीपिच गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। आन्तरिक आम्दानी न्यून रहेको भए पनि जनतासम्म विकास पुर्‍याउन नगरपालिकाले आफ्नै स्रोत र उपकरणहरूको प्रभावकारी उपयोग गर्दै अभियानलाई तीव्रता दिएको हो।

गत वर्षकै बराबरको सडक पानीपिच गर्ने लक्ष्यसहित वडा नं. ४ बाट यो अभियान सुरु गरिएको छ। नगर प्रमुख हेमराज ओझाले सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै यस अभियानलाई निरन्तरता दिनु नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताए।

नगरपालिकाले आफ्नै भ्याकु, लोडर, ग्रेडर, र टिप्पर जस्ता उपकरणहरूको खरिदपछि खर्च कटौती गर्दै विकास कार्यलाई प्रभावकारी बनाएको छ। “पहिलाको तुलनामा अहिले खर्च निकै कम छ। आफ्नै उपकरणले मर्मतदेखि निर्माणसम्मको काम सरल बनाएको छ। यसले आर्थिक अनियमितता रोक्न पनि सहयोग पुर्‍याएको छ,” नगर प्रमुख ओझाले बताए।

प्रत्येक वर्ष कम्तिमा पाँच किलोमिटर सडक पानीपिच गर्ने लक्ष्यअनुसार नगरपालिकाले हरेक वडामा विकास कार्यलाई निरन्तरता दिएको छ। अभियानले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकहरूलाई दैनिक जीवनमा ठूलो राहत पुर्‍याएको छ। विद्यार्थीहरूको विद्यालय यात्रा सहज हुनुका साथै वर्षातमा यातायातका समस्या समाधान भएको स्थानीय बासिन्दाले अनुभव गरेका छन्।

कृष्णपुर नगरपालिकाको यो पहल समानुपातिक विकासको उदाहरण बनेको छ। सीमित बजेट र स्रोत साधनको उच्चतम उपयोग गर्दै नागरिकलाई विकासको अनुभूति गराउने प्रयासले अन्य स्थानीय तहलाई पनि प्रेरित गर्न सक्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै