
धनगढी: धनगढीमा हुने सिप तथा रोजगार मेलाको मिति परिमार्जन भई अब फागुन ८ देखि चैत ८ सम्म सञ्चालन हुने भएको छ। एक महिनासम्म चल्ने यस मेलामा १,१२२ युवाहरूलाई आठ विधामा २९ प्रकारका तालिम प्रदान गरिनेछ।
मेलाको मिति परिवर्तनका कारण धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले प्राविधिक कारणलाई औंल्याउँदै मेला तय समयभन्दा ढिलो सुरु हुने जानकारी दिएका छन्।
मेलामा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई रोजगारी र स्वरोजगारका लागि आवश्यक सीपमूलक तालिम प्रदान गरिनेछ। तालिममा सहभागी हुन माघ २० गतेसम्म अनलाइन वा हातैले आवेदन फाराम भर्न सकिनेछ।
धनगढीका प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी आवेदन भर्ने प्रक्रिया सहज बनाइएको छ। नगरपालिकाको हेल्प डेस्क र विभिन्न क्षेत्रमा खटिएका स्वयंसेवकहरू दैनिक ५० देखि १०० जनाको आवेदन फाराम भर्दै आएका छन्।
तालिम पूरा गरेपछि अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्वरोजगार र उद्यम व्यवसाय गर्न इच्छुक युवाहरूलाई पाँच दिने व्यवसाय सुरुवात र सुधार तालिम प्रदान गरिनेछ। यस्तै, रोजगार मेलाको समापनअन्तर्गत चैत १४ र १५ गते दुई दिने रोजगार मेला आयोजना गरिने धनगढी उपमहानगरपालिकाले जनाएको छ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका युवाहरूलाई लक्षित गरी आयोजना गरिने यो मेला युवा जनशक्तिलाई सिपयुक्त बनाउँदै श्रम बजारमा समाहित गराउनको लागि महत्वपूर्ण पहलका रूपमा रहेको छ।