धनगढी, माघ १८ – कैलालीको गोदावरी नगरपालिका-८ स्थित स्याउले बजारमा सम्पन्न प्रदेश स्तरीय शारदा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले हात पारेको छ।
फाइनल खेलमा दुर्गालक्ष्मीले सरस्वती मावि, गेटालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। विजेता बनेको दुर्गालक्ष्मीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सरस्वती माविले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिता स्याउलेस्थित शारदा विद्या निकेतनको आयोजनामा माघ १६ गतेदेखि सुरु भएको थियो। प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक प्रमुख अतिथि रहेका थिए। उनले विजेता तथा उपविजेतालाई ट्रफी र पुरस्कार वितरण गरे।
व्यक्तिगत विधातर्फ सुरेश साउँद ‘प्लेयर अफ द फाइनल’ र ‘सर्वाधिक गोलकर्ता’ घोषित भए भने सुदीप विक ‘वेस्ट गोलकिपर’ घोषित भए। सुमित चौधरी ‘उदयीमान खेलाडी’ र दिवस भट्ट ‘सर्वोत्कृष्ट खेलाडी’ बने।
प्लेयर अफ द फाइनल सुरेश साउँदले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने अन्य विधागत विजेताहरूले जनही १ हजार रुपैयाँ नगद पुरस्कार पाए। लिग चरणमा सञ्चालन भएको प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो।